काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट रकम कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरीका अनुसार कर्मचारीको तलबबाट कटौती गरी संकलन हुने रकममध्ये ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिनेछ। प्रहरी प्रधान कार्यालयका अनुसार यसपटक ७६ हजार ८५५ जना प्रहरी कर्मचारीको तलबबाट विभिन्न दरमा रकम कटौती गरिनेछ।


निर्णयअनुसार कर्मचारीको तलबबाट कुल ४३ करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यसमध्ये ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने बाँकी रकमको व्यवस्थापनसम्बन्धी निर्णय प्रहरी प्रधान कार्यालयको प्रक्रियाअनुसार हुने बताइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार यसपटक विगतको तुलनामा फरक विधिबाट तलब कटौती गरिएको छ। विगतमा विपद्का बेला सबै प्रहरी कर्मचारीको तलबबाट तुलनात्मक रूपमा समान दरमा रकम कटौती गर्ने अभ्यास हुने गरेकोमा यसपटक कर्मचारीको तह, जिम्मेवारी र तलबको अवस्थालाई ध्यानमा राखेर फरक–फरक दर निर्धारण गरिएको प्रहरी प्रधान कार्यालयको दाबी छ।
प्रधान कार्यालयले यसपटक अपनाइएको विधि विगतको तुलनामा बढी व्यवस्थित र ‘वैज्ञानिक’ भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीलाई समेटेर रकम संकलन गरिने निर्णय गरिएको हो।
यता, बाढी तथा विपद्बाट प्रत्यक्ष प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको भने तलब कटौती नगरिने जानकारी प्रहरीले दिएको छ। विपद्को समयमा खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन तथा राहत वितरणमा प्रत्यक्ष रूपमा खटिने प्रहरी कर्मचारीलाई थप प्रोत्साहन र सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार विपद् तथा आपत्कालीन अवस्थामा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिदिन २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु राज्यका सबै निकाय तथा नागरिकको साझा दायित्व भए पनि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको तलबबाट रकम कटौती गर्ने विषय भने विगतदेखि नै बहसमा आउने गरेको छ।
विशेषगरी विपद्का बेला आफ्नो ज्यानसमेत जोखिममा राखेर खोज तथा उद्धारमा खटिने प्रहरी कर्मचारीको योगदान, उनीहरूको सुविधा र मनोबललाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न महत्वपूर्ण मानिन्छ। एकातिर विपद् प्रभावित नागरिकका लागि तत्काल स्रोत जुटाउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ संकटको समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको योगदान र मनोबललाई समेत उच्च राख्नुपर्ने चुनौती छ।
नेपाल प्रहरीको पछिल्लो निर्णयले विपद् प्रभावित नागरिकका लागि आवश्यक स्रोत जुटाउने प्रयाससँगै सुरक्षाकर्मीको योगदान, प्रोत्साहन र मनोबलबीच सन्तुलन कायम गर्ने विषयलाई समेत पुनः बहसमा ल्याएको छ।






