Monday, November 23, 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई विभिन्न शीर्षकमा गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार मृतक कर्मचारीका परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख, सम्बन्धित राहतसम्बन्धी कार्यविधिअनुसार ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषको मापदण्डअनुसार ५ लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ। मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र तिर्न बाँकी ऋणसमेत मिनाहा गरिने भएको छ।

मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णयसमेत भएको छ। त्यस्तै, बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

मृतक सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा मृतकका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम दिने निर्णय पनि बैठकले गरेको छ।

यसैबीच, सशस्त्र प्रहरी कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

तर, टिमुरे बीओपी र मैलुङ सुरक्षा बेसमा कार्यरत रही बाढीमा परी ज्यान जोगाउन सफल भएका कर्मचारीको तलबबाट भने रकम कट्टा नगरिने भएको छ।

भोटेकोशी बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। त्यसैगरी, बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोल