काठमाडौं । विवाह दर्ताका लागि नक्कली सरकारी कागजपत्र तयार गरिदिएको आरोप लागेका कानून व्यवसायी वासुदेव रिजाललाई काठमाडौं प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
कानून व्यवसायी रिजाल (प्रमाणपत्र नम्बर १६२६४) ले बुढानीलकण्ठ नगरपालिका–२ को वडा कार्यालयको नक्कली सिफारिसपत्र तयार गरी अदालतमा विवाह दर्ताका लागि प्रयोग गरेको आरोप लागेको छ। उक्त नक्कली सिफारिसपत्रकै आधारमा गत ९ भदौमा नुवाकोटका रामहरि सापकोटा र तनहुँकी विष्णु लम्सालबीच अदालतमा विवाह दर्ता भएको थियो।


तर, विवाह दर्ताको क्रममा अदालतका कर्मचारीलाई वडा कार्यालयको सिफारिसपत्रमाथि शंका लागेपछि सम्बन्धित वडा कार्यालयमा बुझाइएको थियो। त्यसक्रममा उक्त सिफारिसपत्र नक्कली रहेको पुष्टि भएको थियो। बुढानीलकण्ठ नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको हस्ताक्षरसमेत कीर्ते गरी विभिन्न कागजपत्र तयार पारिएको खुलेपछि अदालतले विवाह दर्ताका लागि उपस्थित रामहरि र विष्णुलाई प्रहरीको जिम्मा लगाएको थियो।
प्रहरीले दुवै जनासँग बयान लिने क्रममा विवाह दर्तासम्बन्धी कागजपत्र तयार पार्नेदेखि आवश्यक प्रक्रिया मिलाउनेसम्मको जिम्मेवारी कानून व्यवसायी रिजाललाई दिएको उनीहरूले बताएका छन्। उनीहरूको बयानमा आफूहरूले विवाह दर्ताको सम्पूर्ण कानूनी प्रक्रियाका लागि रिजाललाई जिम्मा दिएको उल्लेख गरिएको छ।
तर, घटनामा कानून व्यवसायीको प्रत्यक्ष भूमिका देखिएको भनिए पनि काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेन। प्रहरीले लिखत कीर्तेसम्बन्धी मुद्दाको अनुसन्धान करिब एक सातामै टुंग्याएर अदालतमा अभियोगपत्र दायर गरेको छ। अभियोगपत्रमा रिजाललाई भने फरार प्रतिवादी कायम गरिएको छ।
सरकारी कागजपत्र तथा वडा अध्यक्षको हस्ताक्षरसमेत कीर्ते भएको गम्भीर आरोप रहेको घटनाको अनुसन्धान यति छोटो समयमा टुंग्याइएको विषयमा समेत प्रश्न उठेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पर्याप्त अनुसन्धान नभएको र केही व्यक्तिलाई अनुसन्धानको दायराबाट बाहिर राखिएको आशंका गरिएको छ।
स्रोतका अनुसार रिजाललाई पक्राउ गर्न सकिने अवस्था हुँदाहुँदै पनि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न चासो नदेखाएको आरोप छ। घटनामा प्रहरी र कानून व्यवसायीबीच चलखेल भएको हुनसक्ने आशंकासमेत गरिएको छ। यद्यपि, यसबारे प्रहरीले कुनै अनियमितता वा दबाब रहेको औपचारिक रूपमा पुष्टि गरेको छैन।
रामहरि सापकोटा र विष्णु लम्साल लामो समयदेखि कतारमा लिभिङ टुगेदरमा बस्दै आएको बताइएको छ। कतारमा बच्चा जन्माउनका लागि विवाह भएको प्रमाण आवश्यक पर्ने भएपछि उनीहरू कानूनी रूपमा विवाह गर्न नेपाल आएको बताइएको छ। विवाह दर्ताको कानूनी प्रक्रिया पूरा गर्ने जिम्मेवारी कानून व्यवसायीलाई दिए पनि नक्कली कागजपत्र प्रयोग भएको खुलेपछि उनीहरू आफैं प्रहरी अनुसन्धानमा तानिएका हुन्।
विवाह गर्न नेपाल आएका उनीहरू कानून व्यवसायीले तयार पारेका कागजपत्रकै कारण कानूनी झमेलामा परेका छन्। घटनामा नक्कली सरकारी कागजपत्र कसरी तयार भयो, त्यसमा कानून व्यवसायीबाहेक अन्य व्यक्तिको संलग्नता थियो कि थिएन र प्रहरीले अनुसन्धानका क्रममा ती पक्षलाई किन पर्याप्त रूपमा नखोतलेको भन्ने प्रश्न अहिले उठेको छ।





