काठमाडौं । क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा फोरेंसिक अनुसन्धान र अपराध अनुसन्धानसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले इन्टरपोल मुख्यालयका प्रतिनिधिहरूसँग रणनीतिक छलफल गर्नुभएको छ।
छलफलमा आधुनिक अपराध अनुसन्धानमा फोरेंसिक विज्ञानको बढ्दो भूमिका, प्रविधिको प्रयोग, वैज्ञानिक प्रमाणको आदानप्रदान तथा अन्तरदेशीय अपराध अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको जनाइएको छ।
विशेषगरी डीएनए परीक्षण, डिजिटल फोरेंसिक, अज्ञात शव तथा बेपत्ता व्यक्तिको पहिचान, जैविक प्रमाणको वैज्ञानिक परीक्षण र अन्तरदेशीय अपराधसँग सम्बन्धित प्रमाण तथा सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाउने विषय फोरेंसिक समन्वयका महत्वपूर्ण पक्ष हुन्। इन्टरपोलले सदस्य राष्ट्रका कानून कार्यान्वयन निकायलाई सुरक्षित सञ्चार प्रणाली तथा विभिन्न आपराधिक सूचना र डाटाबेसमार्फत अनुसन्धानमा सहयोग गर्दै आएको नेपाल प्रहरीले जनाएको छ।
नेपालमा इन्टरपोलसम्बन्धी अन्तर्राष्ट्रिय समन्वयका लागि एनसीबी काठमाडौं मुख्य सम्पर्क निकायका रूपमा कार्यरत छ। यसले विदेशी प्रहरी निकाय तथा इन्टरपोलसँग सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय अनुसन्धान सहयोग, फरार अभियुक्तको खोजी, हराएका व्यक्तिको पहिचान तथा सीमापार अपराध नियन्त्रणमा समन्वय गर्दै आएको छ।
आईजीपी कार्कीले पछिल्लो समय अपराध अनुसन्धानलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउनुपर्ने विषयलाई प्राथमिकता दिँदै आउनुभएको छ। नेपाल प्रहरीको रणनीतिक योजनामा समेत नवप्रवर्तन, प्रविधिको प्रयोग, व्यावसायिकता र संस्थागत क्षमता अभिवृद्धिलाई जोड दिइएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य र सूचना आदानप्रदान आवश्यक रहेको विषयमा आईजीपी कार्कीले यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउनुभएको थियो।
फोरेंसिक अनुसन्धानमा अन्तर्राष्ट्रिय मापदण्ड, प्रविधि र विशेषज्ञताको पहुँच विस्तार हुन सकेमा जटिल तथा सीमापार प्रकृतिका अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाण संकलन, परीक्षण र विश्लेषणको क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीका लागि यस्तो समन्वय विशेषगरी अज्ञात शव पहिचान, डीएनए प्रोफाइलिङ, डिजिटल अपराध, संगठित अपराध र सीमापार आपराधिक सञ्जालको अनुसन्धानमा उपयोगी हुने देखिन्छ। यसले अनुसन्धानलाई अनुमान वा बयानमा मात्र निर्भर नराखी वैज्ञानिक प्रमाणमा आधारित बनाउन सहयोग पुर्याउन सक्छ।







