काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न नागरिकसँगको विश्वास र साझेदारीलाई थप सुदृढ गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको विश्वास जित्ने कार्यलाई प्रहरी सेवाको प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।
उनले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी अनुसन्धानमा प्रविधिको रणनीतिक प्रयोग बढाउनुपर्नेमा जोड दिए । विगतका घटना र अनुभवबाट पाठ सिक्दै सूचना संकलन तथा विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना निर्माण गरी प्रहरीलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।


आईजीपी कार्कीले प्रहरी संगठनभित्र योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन तथा आन्तरिक उत्तरदायित्वलाई प्राथमिकता दिनसमेत निर्देशन दिएका छन् । समीक्षा बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी उपलब्धिलाई संस्थागत गर्न र देखिएका कमजोरी सुधार गर्दै केन्द्र तथा प्रदेश प्रहरीबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उनले बताए ।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, बदलिँदो सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो ।





