Surakshya Rastriya Dainik
शुक्रबार, २५ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । देशका प्रमुख शहरमा आधुनिक खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने सरकारको योजनाप्रति खेलप्रेमीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। कोहलपुर गोल्डकपका संयोजक कर्ण बस्नेतले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने सरकारी दृष्टिकोणप्रति आफूहरू आभारी रहेको बताएका छन्।
सरकारले देशका मुख्य १० शहरमा व्यावसायिक फुटबल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइटसहितका रंगशाला स्तरोन्नति गर्ने, मुख्य ८ शहरमा फ्रेन्चाइज क्रिकेटका लागि फ्लडलाइटसहितका संरचना निर्माण गर्ने तथा सातै प्रदेशमा भलिबल, बास्केटबल, कबड्डीलगायतका खेलका लागि एक–एकवटा इन्डोर रंगशाला निर्माण गर्ने योजना अघि सारेको छ।
पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा देशभर २७ वटा खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतिको नेतृत्व गर्ने योजना बनाएको छ। आगामी तीन वर्षभित्र ती प्रत्येक पूर्वाधारमा २५ करोड रुपैयाँसम्म लगानी गरी निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
फुटबलतर्फ झापाको मेची रंगशाला, आदिवासी जनजाति रंगशाला, वीरगञ्जको नारायणी रंगशाला, चितवन रंगशाला, नेपालगञ्ज रंगशाला, सुर्खेत रंगशाला, धनगढी रंगशाला, काठमाडौंको दशरथ रंगशाला, पोखरा रंगशाला, बुटवल एन्फा कम्प्लेक्स, मोरङको सहिद रंगशाला, धरान रंगशाला तथा बाँकेको कोहलपुर फुटबल रंगशालालाई योजनामा समेटिएको छ।
त्यस्तै क्रिकेटतर्फ जनकपुरको रामजानकी क्रिकेट रंगशाला, विराटनगरको बैजनाथपुर क्रिकेट रंगशाला, कोहलपुरस्थित सहिद सुलभ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, सुर्खेतको चाँदनी चोक क्रिकेट रंगशाला, धनगढीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौंको तल्लो मुलपानी क्रिकेट रंगशाला, पोखरा क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला रहेका छन्।
सातै प्रदेशमा निर्माण हुने इन्डोर कभर्डहलतर्फ लुम्बिनीको बुटवल, गण्डकीको पोखरा, मधेशको लहान, कोशीको विराटनगर, कर्णालीको कर्णाली प्रदेश रंगशाला, सुदूरपश्चिमको फाप्ला खेलग्राम तथा बागमतीको काठमाडौंलाई समेटिएको छ।
उल्लेखित खेलकुद पूर्वाधारको निर्माण पूर्वाधार विकास मन्त्रालयले गर्नेछ भने निर्माण सहजीकरण तथा निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
कोहलपुर गोल्डकपका संयोजक बस्नेतले खेलकुदलाई प्रतियोगितामुखी मात्र नभई व्यावसायिक, दिगो र पूर्वाधारयुक्त क्षेत्रका रूपमा विकास गर्ने वातावरण निर्माण हुनु सकारात्मक कदम भएको बताए। उनका अनुसार कोहलपुरमा फुटबल र अन्तर्राष्ट्रिय क्रिकेट पूर्वाधार विकासको योजना अघि बढ्दा यस क्षेत्रका खेलाडी, प्रशिक्षक, क्लब तथा खेलप्रेमीमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।
खेलकुद पूर्वाधारमा हुने लगानीले खेलाडी उत्पादनसँगै नियमित प्रतियोगिता सञ्चालन, स्थानीय अर्थतन्त्र, पर्यटन र युवाको खेलप्रतिको आकर्षण बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अब मुख्य चुनौती भनेको घोषित योजनालाई समयमै, गुणस्तरीय र पारदर्शी रूपमा कार्यान्वयन गर्नु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech