कोहलपुर । सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले कोहलपुर नगरपालिका र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबीच आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोहलपुर नगरपालिका प्रथम पक्ष र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल दोस्रो पक्षका रूपमा रहेका छन्।
आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम निर्देशिका, २०७८ अनुसार सेवा सञ्चालन गर्ने गरी गरिएको सम्झौताले कार्यक्रमका लागि आवश्यक आधारभूत मापदण्ड पूरा भएको उल्लेख गरेको छ। सम्झौता दुई वर्षका लागि कायम रहने र निरन्तरता आवश्यक भए म्याद सकिनुभन्दा कम्तीमा तीन महिना अगावै नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार अस्पतालले कार्यक्रमअन्तर्गतका सेवा तथा सुविधा उपलब्ध गराउने, नियमित प्रतिवेदन पेश गर्ने र सेवाग्राहीसँग सम्बन्धित समस्याको समाधान तथा समन्वयका लागि एक–एक जना फोकल पर्सन तोक्नुपर्नेछ। त्यसैगरी, कोहलपुर नगर क्षेत्रभित्रका सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ।
सम्झौताको अर्को महत्वपूर्ण पक्ष आर्थिक सहुलियत हो। आवश्यक जाँच तथा सेवाग्राहीको आर्थिक अवस्थाका आधारमा १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था अस्पतालले गर्नुपर्ने उल्लेख छ। छुटका लागि कोहलपुर नगर अस्पतालबाट रेफर गरिएको कागजातलाई आधार मानिने तथा विपन्न नागरिकका हकमा कार्यपालिका वा वडा कार्यालयको सिफारिसका आधारमा सेवा सुविधा उपलब्ध गराइने व्यवस्था छ।
सम्झौताले कार्यक्रमको अनुगमन, प्रतिवेदन, खर्च भुक्तानी तथा सेवा मापदण्डसमेत स्पष्ट गरेको छ। तर, सम्झौता हुनु र सेवा प्रभावकारी रूपमा सञ्चालन हुनु दुई फरक विषय हुन्।
गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रम भएकाले यसको कार्यान्वयनमा ढिलाइको औचित्य खोज्नुपर्ने अवस्था छ। नगरपालिका र अस्पतालबीच सम्झौता भएपछि अब नागरिकले कागजी प्रक्रिया होइन, सेवा कहिलेदेखि सुरु हुन्छ, कसले पाउँछ, कति सहुलियत पाउँछ र सेवा कति प्रभावकारी हुन्छ भन्ने प्रश्नको उत्तर खोज्नेछन्।
स्थानीय सरकारले सम्झौतालाई उपलब्धिका रूपमा प्रचार गर्नुभन्दा त्यसको कार्यान्वयन, बजेट तथा भुक्तानीको पारदर्शिता, सेवाको गुणस्तर र लक्षित वर्गको पहुँच सुनिश्चित गर्नुपर्ने देखिन्छ।
आमा र नवजात शिशुको स्वास्थ्यमा ढिलाइको कुनै विकल्प हुँदैन—सम्झौताको मसीभन्दा महत्वपूर्ण अस्पतालमा देखिने सेवा हो।








