काठमाडौं । आकर्षक तलबसहित जापान पठाइदिने प्रलोभन देखाएर १५ जनाबाट १ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने २६ वर्षीय दीपबहादुर तामाङ रहेका छन्। उनी रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का स्थायी बासिन्दा तथा निम एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार तामाङले जापान पठाइदिने भन्दै १५ जना पीडितबाट १ करोड १ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





