बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका एक युवक घाइते भएका छन्।
देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली चलाउँदा बुटवल–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन्।
गोली लागेर खत्रीको दाहिने गालाको छाला च्यातिएको प्रहरीले जनाएको छ। उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल पनि छन्।
प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।








