Thursday, October 22, 2026

ताजा अपडेट

काठमाडौं । बडादशैं, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, कालोबजारी, सीमा अपराध, सडक दुर्घटना तथा डिजिटल ठगी नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

नेपाल प्रहरीले चाडपर्वमा नागरिकको सुरक्षित आवागमन, बैंक तथा वित्तीय संस्थाको सुरक्षा, बजार अनुगमन तथा धार्मिक र सांस्कृतिक कार्यक्रमलाई सुरक्षित बनाउन ५० हजार ४५८ जना प्रहरी परिचालन गर्ने जनाएको छ।

प्रहरीका अनुसार देशभर प्रहरी नायब महानिरीक्षकको कमाण्डमा सुरक्षा जनशक्ति परिचालन गरिनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा व्यवस्थापन गरिनेछ।

मुख्य बजारदेखि सीमा नाकासम्म निगरानी

चाडपर्वका समयमा चोरी, लुटपाट तथा डकैतीका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रमुख बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन क्षेत्र र सुनचाँदी कारोबार हुने स्थानमा निगरानी बढाइने प्रहरीले जनाएको छ।

त्यसैगरी सहरका प्रवेश तथा निकास नाका र शंकास्पद स्थानमा पनि सुरक्षा जाँच कडा बनाइनेछ। यसका लागि पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, क्विक रेस्पोन्स टिम (QRT), लामो दूरीको गस्ती, सादा पोशाकका प्रहरी र आकस्मिक चेकजाँच परिचालन गरिनेछ।

मुख्य नाका तथा शंकास्पद स्थानमा तालिमप्राप्त कुकुर प्रयोग गरी चेकजाँच गरिनेछ भने ट्राफिक प्रहरीसहितको संयुक्त जाँचलाई प्रभावकारी बनाइनेछ।

प्रहरीले अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ। देशभर भने ४०८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने जनाइएको छ।

लामो दूरीका यात्रामा विशेष जाँच

चाडपर्वमा घर फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातमा विशेष निगरानी गरिनेछ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनका चालकको लाइसेन्स जाँच, मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) परीक्षण गरिने प्रहरीले जनाएको छ। सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरिएको प्रमाणपत्रसमेत जाँच गरिनेछ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने, सवारीको छतमा सामान राख्ने तथा चालकले लापरबाही गर्ने गतिविधिमा कडाइ गरिनेछ।

यात्रुको सुरक्षा निगरानीका लागि ट्राफिक कम्युनिकेसन एप्लिकेसन (TCA) प्रयोग गरिनेछ। यस प्रणालीमार्फत एउटा चेकपोस्टमा भएको जाँचको जानकारी अर्को चेकपोस्टमा समेत पुग्ने भएकाले एउटै सवारीसाधन र चालकको निगरानी प्रभावकारी हुने प्रहरीको भनाइ छ।

यात्रु सहायता कक्षबाट टिकट, सडक मार्ग, सुरक्षा तथा गुनासोसम्बन्धी जानकारी उपलब्ध गराइनेछ। हराएका तथा भेटिएका व्यक्ति र सामानको समन्वय गर्नुका साथै महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गरिनेछ।

ड्रोन, सीसीटीभी र बडी-वर्न क्यामेराबाट निगरानी

नेपाल प्रहरीले यसपटक प्रविधिमा आधारित सुरक्षा निगरानीलाई पनि प्राथमिकता दिएको छ।

प्रमुख बजार, चोक, सीमा नाका तथा भीडभाड हुने क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिनेछ। आवश्यक स्थानमा ५२ वटा ड्रोन प्रयोग गरी हवाई निगरानी गरिनेछ भने प्रहरी परिचालनका क्रममा बडी-वर्न क्यामेरा पनि प्रयोग गरिनेछ।

प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमा सूचना आदानप्रदान गर्ने तथा डिजिटल सूचना र सामाजिक सञ्जालमा देखिने शंकास्पद गतिविधिमाथि निगरानी राख्ने योजना पनि प्रहरीले बनाएको छ।

एआईबाट हुने डिजिटल ठगीमाथि पनि निगरानी

चाडपर्वका समयमा अनलाइन कारोबार बढ्ने भएकाले डिजिटल ठगीलाई प्रहरीले सुरक्षा योजनाको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ।

नक्कली अनलाइन सपिङ तथा ‘फेस्टिभल अफर’, नक्कली लटरी वा उपहार, नाफाको प्रलोभन देखाउने लगानी योजना, क्यूआर कोड तथा डिजिटल भुक्तानी ठगी, मोबाइल बैंकिङ र वालेटसम्बन्धी ठगी नियन्त्रणमा निगरानी बढाइनेछ।

त्यसैगरी ओटीपी, पिन तथा पासवर्ड मागेर गरिने फिसिङ र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएका नक्कली अडियो, भिडियो तथा आवाजमार्फत हुने ठगीलाई पनि प्रहरीले विशेष निगरानीमा राखेको छ। अरू व्यक्तिको नक्कली पहिचान बनाएर ठगी गर्ने गतिविधिमाथि समेत निगरानी गरिनेछ।

प्रहरीले नागरिकलाई ओटीपी, पिन, पासवर्ड तथा बैंकिङसम्बन्धी गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ। आफन्त वा सरकारी अधिकारीको नाममा एआईबाट तयार पारिएको आवाज वा भिडियो पठाएर असामान्य रकम मागिएमा तत्काल विश्वास नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

जुवातास, सट्टेबाजी र अवैध पटका नियन्त्रणमा कडाइ

चाडपर्वका नाममा हुने जुवातास, अवैध सट्टेबाजी, अत्यधिक मदिरा सेवन, झैझगडा तथा सार्वजनिक स्थानमा हुने उच्छृङ्खल गतिविधि नियन्त्रणमा प्रहरीले विशेष निगरानी गर्नेछ।

खुला अन्तर्राष्ट्रिय सीमा नाकाबाट पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण रोक्न विशेष चेकजाँच गरिनेछ।

त्यस्तै भन्सार छलीका सामानको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य असुल्ने तथा म्याद गुज्रिएका वा मिसावटयुक्त खाद्य सामग्री बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन गरिने प्रहरीले जनाएको छ।

घर खाली छाडेर जानेलाई प्रहरीको सुझाव

चाडपर्वमा लामो समयका लागि घरबाट बाहिर जाने नागरिकलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ।

घर छाड्नुअघि ढोका र झ्याल राम्रोसँग बन्द गर्न, ग्यास तथा विद्युत्को अवस्था जाँच गर्न र आफू घरमा नरहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ।

आवासीय क्षेत्रमा स्थानीय समुदाय तथा टोल समितिसँग समन्वय गरी सीसीटीभी र अलार्म प्रणाली प्रयोग गर्न प्रोत्साहन गरिनेछ। लामो समय घर छाडेर जाने नागरिकलाई छिमेकी वा स्थानीय प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा प्राथमिकता

नेपाल प्रहरीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसाप्रति शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रम, भीडभाड हुने स्थान र सार्वजनिक क्षेत्रमा हुन सक्ने झैझगडा, लुटपाट तथा अन्य अप्रिय घटना रोक्न थप सुरक्षा जनशक्ति परिचालन गरिनेछ।

प्रहरीको आग्रह : ‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्’

नेपाल प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउनु प्रहरीको मात्रै जिम्मेवारी नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायको साझा दायित्व भएको जनाएको छ।

प्रहरीले भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा सावधानी अपनाउन, मादक तथा लागू पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ।

‘सूचना, प्रविधि, प्रहरी परिचालन र नागरिक सहकार्य’ लाई आधार बनाएर चाडपर्व सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नागरिकलाई आश्वस्त पार्दै सुरक्षित रूपमा चाडपर्व मनाउन आग्रह गरेको छ। आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर