सुनसरी । सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ५ लाख ९२ हजार ५०० रुपैयाँ नगद, १२ थान मोबाइल र १२ बुङ तास बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार बिहीबार राति धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।


प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले घरधनी लिम्बुसहित ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान–१६ जोरसखुवाका ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






