नेपालगञ्ज । आज मिति २०८३ साल वैशाख १९ गते शनिबार उद्योग वाणिज्य संघ नेपालगन्जको सभाकक्षमा ‘शैलसुते’ उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
परिचर्चाकारका रूपमा सहभागी विद्वान व्यक्तित्वहरू डा. हरि तिमिल्सिना तथा लेखक लेक प्याकुरेलले उपन्यासका विषयवस्तु, शैली, संरचना र यसको साहित्यिक महत्वबारे आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले ‘शैलसुते’ उपन्यासले समसामयिक समाजका विविध पक्षहरूलाई प्रभावकारी रूपमा उजागर गरेको उल्लेख गर्नुभयो।


उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोपाल प्रसाद अधिकारी रहनुभएको थियो भने सभापतित्व प्रा.डा. जनार्दन आचार्यले गर्नुभएको थियो। कार्यक्रममा प्राज्ञ सनत रेग्मी, नरेन्द्रजंग पिटर, भेरी साहित्य समाजका अध्यक्ष ईन्द्र बस्नेत, कल्पना पौडेल ‘जिज्ञासु’, चन्द्रावती अधिकारी लगायत दर्जनौँ साहित्यकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले नेपाली साहित्यमा यस्ता परिचर्चाहरूले सिर्जनात्मक बहसलाई अघि बढाउने र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।






