कपिलवस्तु । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना गत वैशाख १९ गते राति चन्द्रौटा–कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका–५ मा भएको हो। शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले उल्टै प्रहरीमाथि जाइलागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटल प्याराडाइज अगाडि उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वरकी २६ वर्षीया अन्जना तामाङ, प्युठानकी २० वर्षीया वर्षा सुनार, विजयनगरका २२ वर्षीय मनोज गुप्ता, शिवराजका २७ वर्षीय दीपेन्द्र कुमार चौधरी र भारतको सिद्धार्थनगर निवासी २८ वर्षीय रन्जित चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरूले रातिको समयमा ड्युटीमा रहेका महिला प्रहरीलाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौज गर्दै प्रहरीको काममा बाधा पुर्याएका थिए। प्रहरीले सम्झाउन खोज्दा पनि उनीहरूले चर्को स्वरमा होहल्ला गर्दै अशान्ति मच्चाएपछि तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।
नियन्त्रणमा लिइएका पाँचै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई थुनामा राखिएको प्रहरीले जनाएको छ।







