काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा एक पूर्वमन्त्री, बहालवाला तथा पूर्वसचिवसहित १४ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारी, पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य तथा हाल बहालमा रहेका सचिव दुण्डुराज घिमिरे लाई प्रतिवादी बनाएको हो।
पूर्वसचिव महेश्वर न्यौपाने यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका थिए। उनी अख्तियारमा सचिवका रूपमा कार्यरत रहिसकेका व्यक्ति हुन् भने गृहसचिवको जिम्मेवारी समेत सम्हालिसकेका थिए। उनका विषयमा विभिन्न सञ्चारमाध्यममा भान्जा सुजन पौडेलको नाममा अकुत सम्पत्ति राखिएको समाचार सार्वजनिक हुँदै आएका छन्।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशकद्वय प्रदीप अधिकारी र सञ्जिव गौतम, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल लगायत अन्य व्यक्तिहरू तथा चिनियाँ निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र त्यसका प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई अवैध रूपमा कर छुट दिइएको र त्यसबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको निष्कर्ष निकालिएको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछाने का अनुसार मुद्दा दर्ता भई हाल रूजु प्रक्रियामा रहेको छ। आयोगले यसअघि पनि २१ मंसिरमा पाँच पूर्वमन्त्रीसहितविरुद्ध मुद्दा दायर गरेको थियो भने ८ चैतमा विमानस्थल निर्माणसँग सम्बन्धित अर्को प्रकरणमा छुट्टै मुद्दा दायर गरेको थियो।
आज दायर गरिएको मुद्दा यस प्रकरणको तेस्रो चरणको कारबाही भएको बताइएको छ। अख्तियारले प्रतिवादीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबर बिगो कायम गरिएको जनाएको छ।







