नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका सामानसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, १० र १७ मा गरिएको निगरानी तथा चेकजाँचका क्रममा ३ लाख ४६ हजार ५ सय रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको हो।
प्रहरीले अवैध ओसारपसारमा प्रयोग भएका युपी ४० एएस २०८७, भे २ प ७५६८ र भे ९ प ७०६४ नम्बरका मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामानमा पानी पुरीका कच्चा पदार्थ, खुकुरी चुरोट, विभिन्न पेय पदार्थ तथा बोइलर कुखुरा रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएका सबै सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।







