काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित नागेश्वर महादेव मन्दिर मा ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको छ।
मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अनुसार शनिबार राति मन्दिरको भेटी संकलन गरिएको बाकस चोरी भएको हो। महाशिवरात्रि पर्वपछि उक्त बाकस नखोलिएकाले त्यसमा करिब ८ देखि १० लाख रुपैयाँ रहेको अनुमान गरिएको समितिले जनाएको छ।
मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौमा भएको जेनजी आन्दोलनपछि हटाइएको बताइएको छ। त्यसयता समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आए पनि पुनःस्थापना हुन सकेको थिएन।
स्थानीयवासीले प्रहरी बिट हटाइएपछि मन्दिरको सुरक्षा कमजोर बनेको गुनासो गरेका छन्। चोरी घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
उक्त नागेश्वर मन्दिर यसअघि पशुपति क्षेत्रको गौचरणमा रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा मन्दिरलाई गोठाटार क्षेत्रमा स्थानान्तरण गरिएको थियो।







