सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै हत्या घटनामा सामान्य विवाद र व्यक्तिगत रिसिइबीका कारण भारतीय सुटर प्रयोग गरिएको तथ्य खुलेको छ । प्रहरीले दुवै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पहिलो घटना सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रमेन्नाथ यादवको हत्या हो । गत माघ १६ गते आफ्नै खेत जोतिरहेका बेला उनलाई सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोलाको किनारमा अज्ञात हतियारधारीले गोली हानी हत्या गरेका थिए । घटनास्थलमै यादवको मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानअनुसार मृतक प्रमेन्नाथ यादव र स्थानीय ५२ वर्षीय उपेन्द्र यादवबीच विगत चार वर्षदेखि व्यक्तिगत रिसिइबी चल्दै आएको थियो । सोही रिसिइबीको बदला लिन उपेन्द्रले भारतीय अपराधिक गिरोहसँग तीन लाख रुपैयाँमा हत्या गराउने सम्झौता गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपेन्द्रले अग्रिम स्वरूप एक लाख रुपैयाँ बुझाएका थिए । त्यसपछि भारतीय सुटर नेपाल आएर प्रमेन्नाथ यादवको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । तर सम्झौताअनुसारको बाँकी दुई लाख रुपैयाँ भने अझै भुक्तानी हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत सिरहा बाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ ।
यस्तै दोस्रो घटना औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्माको हत्या हो । २०८२ माघ ४ गते राति मन्दिरभित्र चुकुल लगाएर सुतेका अवस्थामा उनलाई टाउको पछाडिबाट गोली हानी हत्या गरिएको थियो ।
अनुसन्धानका क्रममा स्थानीय ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसिइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ सुपारी दिएर पुजारी शर्माको हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा का सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार दुवै घटनामा संलग्न भारतीय गिरोह र सुटरको पहिचान भइसकेको छ । तर उनीहरू भारततर्फ लुकेर बसेकाले पक्राउ गर्न केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।







