मोरङ । मोरङको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा क्षेत्रमा गएराति गरिएको विशेष जाँचका क्रममा २० लाख भारतीय रुपैयाँ फेला परेको हो ।
भारतबाट मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि सशस्त्र प्रहरीको टोलीले जाँच थालेको थियो । त्यसक्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला घटनास्थलमै फालेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले फालिएको झोला जाँच गर्दा भित्र ५ सय दरका ४० बण्डल भारतीय रुपैयाँ फेला परेको थियो । बरामद रकम २० लाख भारतीय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त रकम सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले बरामद गरेको हो । फरार व्यक्तिको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा ले बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । 







