काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय अपराध सूचना प्रणाली दुई दिनका लागि अवरुद्ध हुने भएको छ । प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गत सञ्चालित उक्त प्रणालीमा भीएमवेयर अपडेट गर्नुपर्ने भएकाले भोलि र पर्सि प्रणाली प्रभावित हुने जनाइएको हो ।
नेपाल प्रहरीले जारी गरेको परिपत्रअनुसार मिति २०८३ जेठ २ र ३ गते प्रणालीमा रहेको सर्भरमा भीएमवेयर अपडेट गरिनेछ । अपडेटका कारण सो अवधिमा प्रणालीसँग आबद्ध विभिन्न सफ्टवेयर सञ्चालनमा समस्या देखिन सक्ने बताइएको छ ।


प्रहरीका अनुसार सीएफडी, हराएको तथा फेला परेको विवरण, पहिचान नभएका शवसम्बन्धी सफ्टवेयरलगायत सेवामा असर पर्न सक्नेछ ।
परिपत्रमा भनिएको छ, “प्रणालीमा रहेको सर्भरमा मिति २०८३ जेठ २ र ३ गते भीएमवेयर अपडेट गर्नुपर्ने भएकोले उक्त अवधिमा प्रणालीमा आबद्ध रहेका सीएफडी, हराएको र फेला परेको, पहिचान नभएका शवलगायतका सफ्टवेयरहरु सञ्चालनमा समस्या देखिन सक्ने सम्पूर्ण प्रहरी कार्यालयलाई जानकारी गराइन्छ ।”






