पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का स्थानीय नेता पनि तानिएका छन् । कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी गरिएकामध्ये रास्वपा स्याङ्जाका नेता बोधराज रेग्मी पनि रहेका छन् । पक्राउ पुर्जी जारी भएको खबरपछि उनी फरार रहेको बताइएको छ ।
प्रहरीले सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने तथा पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पारेपछि उक्त कदम चालिएको जनाएको छ ।
बोधराज रेग्मी रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मी का स्वकीय सचिव हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवारसमेत बनेका थिए । बोधराज स्याङ्जाको पुतलीबजार नगरपालिका–५ नयाँबजार निवासी हुन् ।
यसअघि पनि २०८० मंसिरमा उक्त सहकारीका सञ्चालक तथा सम्बन्धित व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो । त्यसबेला पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक तथा एमाले पोखरा–२१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र कानुनी सल्लाहकार जनकल्याण पराजुलीलगायतविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । तीमध्ये केही हाल जेल सजाय भोगिरहेका छन् ।
सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बचतकर्ताको रकम फिर्ता नपाएपछि पीडितहरूले उजुरी दिएका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीको वित्तीय विवरणमा गम्भीर कैफियत देखिएको छ । प्रारम्भिक अनुसन्धानमा २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको उल्लेख गरिएको छ ।







