रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत के.सी. लाई उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै २०८३ साल वैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उनलाई प्रशंसा–पत्रसहित सम्मानित गरिएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर के.सी. ले आफ्नो नेतृत्वमा ट्राफिकसहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरी हेलमेट नलगाउने, आवश्यक कागजपत्र नबोक्ने तथा भन्सार छली गरी सञ्चालनमा रहेका १३० वटा भारतीय सवारी साधनमाथि कारबाही गरेका थिए। उक्त अभियानबाट राजस्व वृद्धि हुनुका साथै ट्राफिक दुर्घटना न्यूनीकरणमा समेत उल्लेखनीय योगदान पुगेको प्रहरीको भनाइ छ।
त्यसैगरी, गत वैशाख २२ गते रौतहटको आईटी चोकमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको मधेस प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकल सम्बन्धी अनुसन्धानका क्रममा अर्को तथ्य खुलेको थियो। विशेष अनुसन्धान तथा सीसीटीभी फुटेजको आधारमा वैशाख २५ गते पक्राउ परेका बारा सिम्रौनगढका २३ वर्षीय जाबिर अन्सारी उक्त मोटरसाइकलका वास्तविक धनी नभई चोरी गरेर चलाइरहेका व्यक्ति रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, चोरीको मोटरसाइकल प्रयोग गरी दुर्घटना गराएर फरार भएका अन्सारीलाई इन्स्पेक्टर के.सी. नेतृत्वको टोलीले कानुनी दायरामा ल्याउन सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालद्वारा हस्ताक्षरित प्रशंसा–पत्रमा इन्स्पेक्टर के.सी. ले विभागीय मूल्य–मान्यता पालना गर्दै शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तथा संगठनको छवि उच्च बनाउन पुर्याएको योगदानको प्रशंसा गरिएको छ। साथै, उनको व्यक्तिगत तथा व्यावसायिक सफलताको शुभकामना समेत व्यक्त गरिएको छ।







