काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट ११ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्की जिल्लाबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा बस्दै आएका महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने महोत्तरीकै ३८ वर्षीय समि अहमद पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बुटाबारी निवासी ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता, सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित झाडी क्षेत्रमा प्रहरीले करिब २७६ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ वटा बोरामा राखिएको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।







