नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा पछिल्ला तीन दिनदेखि दुई युवा “सरकार, कोठा खाली छ?” भन्दै सचेतनामूलक अभियानमा जुटिरहेका छन्।
प्रकाश विश्वकर्मा र सन्तोष विश्वकर्माले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नुपर्ने मागसहित अभियान सञ्चालन गरेका हुन्। उनीहरूले विशेषगरी दलित तथा मधेशी समुदायका विद्यार्थी र नागरिकले कोठा भाडामा लिन खोज्दा जात थाहा पाएपछि घरधनीले कोठा नदिने वा बसिरहेको कोठाबाट समेत निकाल्ने गरेको गुनासो उठाएका छन्।
अभियानका क्रममा उनीहरूले घरधनी तथा सर्वसाधारणलाई “मानवताले जात चिन्दैन” भन्ने सन्देश दिँदै विभेद अन्त्य गर्न आग्रह गरिरहेका छन्।
उनीहरूका अनुसार काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको जातीय विभेदविरुद्धको अभियान दाङ, जुम्ला हुँदै अहिले नेपालगञ्जसम्म पुगेको हो।
अभियानकर्ताले दलित र मधेशी भएकै कारण नागरिकले आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको भन्दै राज्य तथा समाज दुवैले विभेद अन्त्यका लागि जिम्मेवार बन्नुपर्ने बताएका छन्।
उनीहरूले जातीय विभेदरहित समाज निर्माणका लागि सबै पक्षलाई साथ दिन पनि अपिल गरेका छन्।








