काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका बिचौलिया व्यापारी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा असामान्य सुविधा दिइएको आरोपपछि जिल्ला प्रहरी परिसर ललितपुरभित्रै हलचल मच्चिएको छ। घटनामा संलग्न भएको आशंकामा केही प्रहरी अधिकारीमाथि औपचारिक अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले हिरासत व्यवस्थापन, भेटघाट प्रक्रिया, सुरक्षा निगरानी तथा प्रहरी आचरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको बताइएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले घटनालाई गम्भीर रूपमा लिइएको भन्दै निष्पक्ष छानबिन भइरहेको बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्ससँग सम्बन्धित रकम हिनामिना तथा अवैध आर्थिक कारोबारको आशंकामा भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहेको छ। विभागसँग आफ्नै हिरासत सुविधा नभएकाले उनीहरूलाई अनुसन्धान अवधिभर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो।
तर हिरासतमा रहेका बेला उनीहरूलाई अन्य थुनुवाभन्दा फरक व्यवहार गरिएको सूचना बाहिरिएपछि विवाद चर्किएको हो। स्रोतका अनुसार उनीहरूलाई मोबाइल फोन प्रयोग गर्न दिइएको, सहज भेटघाटको व्यवस्था गरिएको तथा रातिको समयमा प्रहरी अधिकारीकै कोठामा बस्ने वातावरण मिलाइएको विषय अहिले छानबिनको केन्द्रमा परेको छ।
यस प्रकरणमा ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीमाथिसमेत प्रश्न उठेको छ। विशेष सुविधा उपलब्ध गराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको आरोपपछि प्रहरी संगठनभित्र पनि विषयले गम्भीरता पाएको बताइन्छ।
घटनाको संवेदनशीलता बढेपछि विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको स्रोतको दाबी छ। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई समेत अनुसन्धानमा सक्रिय बनाइएको बताइएको छ। केही दिनअघि सिआइबी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर पुगेर आवश्यक विवरण संकलन गरेको जनाइएको छ।
त्यसक्रममा सुलभ अग्रवालले प्रयोग गरिरहेको ल्यापटपसमेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि लगिएको स्रोतले जनाएको छ। उक्त ल्यापटपबाट आर्थिक कारोबार, सम्पर्क सञ्जाल तथा सम्भावित प्रभाव प्रयोगसँग सम्बन्धित प्रमाण खोज्ने प्रयास भइरहेको बुझिएको छ।
यस्तै, सुलभ अग्रवाललाई सामान्य हिरासत कक्षमा नराखी छुट्टै कक्षमा राखिएको तथा अन्य थुनुवासरह व्यवहार नगरिएको विषय पनि छानबिनको दायरामा परेको छ। प्रहरी हिरासतमा रहेका सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको उल्लंघन भएको प्रारम्भिक निष्कर्ष निस्किएको स्रोतको भनाइ छ।
प्रकरण सार्वजनिक भएपछि सुरक्षा निगरानी थप कडा बनाइएको बताइएको छ। दीपक भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ भने सुलभ अग्रवाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसँगै बैंकिङ कसुर, बिमा कसुर तथा धितोपत्रसम्बन्धी कसुरमा समेत छुट्टाछुट्टै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो घटनाले प्रहरी हिरासतभित्र पहुँच र प्रभावको प्रयोगबारे गम्भीर प्रश्न उठाएको छ।







