काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति विरोध जनाउँदै मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन बालेर प्रदर्शन गरेको छ ।
सर्वोच्च प्रशासनले प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गरिएका रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । बारको आह्वानमा कानून व्यवसायीहरू सर्वोच्च परिसरमा भेला भई “सत्य र न्यायको खोजी” का लागि प्रतीकात्मक रूपमा लालटिन बालेर विरोध जनाएका थिए ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा वरिष्ठताको आधारलाई बेवास्ता गर्दै चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो । उक्त सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेम सिलवाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए ।
तर, सर्वोच्चका रजिस्ट्रारले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेपछि विवाद थप चर्किएको हो । दरपिठविरुद्ध दर्ता गरिएका निवेदनसमेत होल्ड गरेर राखिएको भन्दै रिट निवेदक प्रेम सिलवालले मंगलबार बिहान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर उजुरी दिएका थिए ।
उजुरीपछि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दिउँसो १ बजेसम्म दर्ता गरेर जानकारी गराउन मुख्य रजिस्ट्रार विमल पौडेललाई निर्देशन दिएकी थिइन् ।
तर, मुख्य रजिस्ट्रार पौडेल र रजिस्ट्रार मानबहादुर कार्की अदालतमा उपस्थित नभएपछि दर्ता प्रक्रिया अघि बढ्न सकेन । कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएको सार्वजनिक भएपछि नेपाल बार एशोसिएशनले अदालत प्रशासनबाट “अनपेक्षित क्रियाकलाप र हर्कत” भएको निष्कर्ष निकाल्दै कडा विरोध कार्यक्रम घोषणा गरेको थियो ।
नेपाल बारले वरिष्ठतम न्यायाधीशलाई बेवास्ता गर्दै चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै यसअघि पनि निरन्तर विरोध गर्दै आएको छ ।








