ललितपुर । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा सञ्चालन भइरहेको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा गरिएको कारवाहीका क्रममा ठूलो परिमाणमा विभिन्न ब्राण्डका मदिरा तथा उत्पादन सामग्री बरामद गरिएको छ भने चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाँगाथलीस्थित विर्खबहादुर तामाङको घरमा अवैध रूपमा रेड लेबल, ब्ल्याक लेबल लगायत महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको फेला परेको हो ।
घटनास्थलबाट रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
छापाका क्रममा प्रहरीले नक्कली मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, उपकरण, राजस्व स्टिकर तथा होलोग्राम समेत बरामद गरेको छ । बरामद मदिराको परिमाण धेरै भएकाले यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।







