नेपालगञ्ज । बाँके प्रहरीले अवैध रूपमा बोइलर कुखुरा ओसारपसार गर्ने गिरोहलाई नियन्त्रणमा लिँदै ठूलो परिमाणमा कुखुरा तथा ढुवानीमा प्रयोग भएका मोटरसाइकल बरामद गरेको छ।
बाँके जिल्ला स्थित जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ ६ गते बिहान करिब १० बजे राप्ती सोनारी गाउँपालिका–४ कुमरस्थित सिंक सामुदायिक जंगलको बाटो प्रयोग गरी अवैध रूपमा बोइलर कुखुरा ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा राप्ती सोनारी–३ निवासी ३२ वर्षीय सागर खत्री र वडा नं. ४ निवासी ३५ वर्षीय लक्ष्मण चौधरी रहेका छन्।
प्रहरीका अनुसार उक्त घटनामा करिब ६ सय केजी (६ क्विन्टल) बोइलर कुखुरा बरामद गरिएको छ। बरामद कुखुराको अनुमानित मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको बताइएको छ। साथै कुखुरा ढुवानीमा प्रयोग गरिएका चार थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यसैबीच, जेठ ४ गतेदेखि हालसम्म नेपालगञ्ज का विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याइएका लत्ताकपडा, माउन्टेन ड्यू, कोक लगायत पेय पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्य तथा सुर्तिजन्य सामग्री समेत प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार करिब ४ लाख ३५ हजार २१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो। उक्त सामानसँगै ढुवानीमा प्रयोग भएको एक थान साइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज मा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।







