काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्दै आएका दिपेश गुरुङ र सौगात गुरुङ रहेका छन्। यस्तै, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्दै आएकी शान्ति श्रेष्ठ तथा पाँचथरको फिदिम नगरपालिका–१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–२२ बस्दै आएका सूर्यप्रकाश खेजुम पनि पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विदेश पठाइदिने भन्दै ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा दिपेश र सौगातले टर्की पठाइदिने भन्दै आठ जना पीडितबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ असुली गरी विदेश नपठाई सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई जेठ ५ गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको हो।
त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सूर्यप्रकाश खेजुमलाई पनि जेठ ५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, लिथुआनिया पठाइदिने आश्वासन दिएर एक जना पीडितबाट १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा शान्ति श्रेष्ठलाई जेठ ६ गते काठमाडौं महानगरपालिका–३० बाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।







