ट्रेण्डिङ

ताजा अपडेट

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फेरि देशकै उत्कृष्ट प्रहरी कार्यालय बन्न सफलता हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्ला प्रहरी कार्यालय पहिलो स्थानमा परेको हो। यसअघि चैत महिनामा पनि बाँके प्रहरी देशकै उत्कृष्ट घोषित भएको थियो।

प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा बाँके प्रहरीले शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसपटक कार्यसम्पादनमा झण्डै १० प्रतिशत सुधार भएको उल्लेख गरिएको छ।

बाँके प्रहरीले कोहलपुर नगर विकास समितिको प्लानिङ क्षेत्रभित्र पर्ने करिब २८ बिघा अतिक्रमित जग्गा कुनै अप्रिय घटना बिना खाली गराउन सफल भएको थियो। संवेदनशील मानिएको उक्त अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नु बाँके प्रहरीको प्रमुख उपलब्धिका रूपमा हेरिएको छ।

वैशाख महिनामा मात्रै बाँकेमा २०५ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये १० वटा जघन्य प्रकृतिका रहेका छन् भने ६१ वटा मध्यम प्रकृतिका मुद्दा रहेका छन्। फैसला कार्यान्वयन अभियानअन्तर्गत ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने विभिन्न घटनामा संलग्न १८७ जना अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी लामो समयदेखि अनुसन्धान हुन नसकेका १९ वटा मुद्दा टुङ्ग्याउन सफल भएको प्रहरीको दाबी छ। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै राजस्व संकलनमा समेत बाँके प्रहरीले योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

नागरिकमैत्री सेवा, प्रविधिको प्रयोग तथा कडा कमाण्ड प्रणालीलाई यस सफलताको आधार मानिएको छ। सर्वसाधारणका गुनासोको छिटो सुनुवाइ, प्रमाण संकलनमा आधुनिक प्रविधिको प्रयोग र मातहत इकाइहरूको सक्रिय परिचालनले कार्यसम्पादनमा सुधार ल्याएको प्रहरीको भनाइ छ।

एसपी अङ्गुर जिसीले यो सफलता व्यक्तिगत नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक मेहनतको परिणाम भएको बताए। उनले बाँकेबासीलाई अझ सुरक्षित अनुभूति गराउने, पीडितलाई छिटो न्याय दिलाउने तथा नागरिकमैत्री प्रहरी सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले लागुऔषध कारोबार, अपराध तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। “अपराधीमाथि कुनै पनि हालतमा सम्झौता हुँदैन,” एसपी जिसीले भने।

पछिल्लो समय अभियन्ता रुबी खानले एसपी जिसीमाथि कारबाहीको माग गर्दै विभिन्न गतिविधि सञ्चालन गरेकी थिइन्। तर प्रहरी प्रधान कार्यालयबाटै बाँके प्रहरीलाई देशकै उत्कृष्ट घोषणा गरिनुले कार्यसम्पादनले नै वास्तविकता पुष्टि गरेको चर्चा स्थानीयस्तरमा भइरहेको छ।

स्थानीयवासीहरूले एसपी जिसीको नेतृत्वलाई “इमानदार, निष्पक्ष र परिणाममुखी” भन्दै प्रशंसा गरेका छन्। “पहिलेभन्दा अहिले सुरक्षाको अनुभूति भएको छ, प्रहरीले काम गरेको देखिन्छ,” स्थानीयहरूको भनाइ छ।

यस मूल्याङ्कनले बाँके जिल्लामा शान्तिसुरक्षाको अवस्था थप मजबुत बन्दै गएको संकेत गरेको छ। साथै लुम्बिनी प्रदेश प्रहरी कार्यालय पनि उत्कृष्ट प्रदेश प्रहरी कार्यालय घोषित भएको छ। उक्त कार्यालयको नेतृत्व डीआईजी भूपेन्द्रबहादुर खत्रीले गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech