काठमाडौं । पर्साको वीरगञ्जस्थित प्रहरी चौकी गण्डकमा कार्यरत प्रहरीमाथि तस्करी नियन्त्रणभन्दा पनि अवैध कारोबारसँग ‘सेटिङ’ मिलाएर रकम असुली भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनिष सिंह र प्रहरी हवल्दार प्रेम यादवको अवैध गतिविधिले संगठनकै बद्नाम भइरहेको छ।
स्रोतका अनुसार वीरगञ्ज तथा कलैयाबाट सञ्चालन हुने रात्री बस, माइक्रोबस र विभिन्न ट्रान्सपोर्टका सवारी साधनबाट मासिक रूपमा रकम उठाउने गरिएको छ। अन्य जिल्लातर्फ जाने गाडीमार्फत अवैध सामग्री ओसारपसार हुने भए पनि प्रहरी कारवाहीभन्दा आर्थिक लेनदेनमै केन्द्रित हुने गरेको आरोप छ।


स्थानीयहरूका अनुसार गण्डक नाका हुँदै दैनिक रूपमा शंकास्पद सामग्री बोकेका दर्जनौं सवारी साधन आवतजावत गर्छन्। तर, नियमित चेकजाँच र कानुनी कारवाही कमजोर देखिएको भन्दै चौकीभित्रैबाट संरक्षण भइरहेको आशंका बढेको छ।
त्यसैगरी, वीरगञ्जबाट सञ्चालन हुने रात्री बस तथा माइक्रोबसमार्फत ‘पोके तस्करी’ समेत मौलाएको दाबी गरिएको छ। केही तस्कर समूहले प्रहरीसँग मासिक ‘सेटिङ’ मिलाएर निर्बाध रूपमा सामान ओसारपसार गरिरहेको स्थानीय स्रोतहरूको भनाइ छ। एक तस्करीमा संलग्न व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा “प्रेम सरसँग मिलाइएको छ” भन्नेबित्तिकै सहज रूपमा छुट पाइने गरेको दाबी गरेको स्रोतले जनाएको छ।
प्रहरी हवल्दार प्रेम यादवको दरबन्दी मकवानपुरमा भए पनि उनी लामो समयदेखि वीरगञ्ज क्षेत्रमा ‘घुमुवा’को रूपमा सक्रिय रहेको बताइन्छ। यसअघि परवानीपुर क्षेत्रमा रहँदा पनि सीमावर्ती तस्करी र अवैध कारोबारसँग उनको नाम जोडिएको स्थानीयहरूको आरोप छ। अहिले पनि गण्डक चौकीमा उनी असुली व्यवस्थापनमा सक्रिय रहेको दाबी गरिएको छ।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी नै अवैध कारोबारसँग जोडिएको आरोप सार्वजनिक भइरहँदा सम्बन्धित निकाय भने मौन देखिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
मधेसका विभिन्न नाकामा पटक–पटक यस्ता आरोप सार्वजनिक हुँदा पनि प्रभावकारी अनुसन्धान र कारवाही नहुँदा प्रहरी संगठनकै छविमा गम्भीर असर परेको टिप्पणी हुन थालेको छ।
स्रोत- Scoopkhabar.com





