ट्रेण्डिङ

नेपालगन्ज, बाँके । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले व्यवसायीक पत्रकारको सुरक्षाका विषयमा आफू दृढ रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारण सभालाई सम्बोधन गर्दै एसपी जिसीले खोजमूलक, निष्पक्ष तथा सुरक्षा बिटमा काम गर्ने पत्रकारहरूको सुरक्षामा बाँके प्रहरी सधैं अग्रपङ्क्तिमा रहने स्पष्ट पारे।
“प्रहरी र व्यवसायीक पत्रकारबीचको सम्बन्ध नङ र मासुको जस्तै हो, अझ सुरक्षा बिटमा काम गर्ने पत्रकारसँग त सम्बन्ध झन् गाढा हुन्छ,” उनले भने।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूलाई सम्मान गरिएकोप्रति खुशी व्यक्त गर्दै उनले जोखिम मोलेर सुरक्षा बिटमा काम गर्ने पत्रकारलाई पनि आगामी दिनमा पुरस्कृत गर्नुपर्ने सुझाव दिए।
“सुरक्षा बिटमा जोखिम मोलेर काम गर्ने पत्रकार साथीहरुलाई अब महासंघका अध्यक्ष नवीन गिरीको बाँकी कार्यकालमै पुरस्कृत गरियोस् भन्ने मेरो सुझाव छ,” उनले बताए।
एसपी जिसीले पत्रकारलाई व्यवसायीक र जिम्मेवार भएर पत्रकारिता गर्न आग्रह गर्दै आत्मसमीक्षा आवश्यक रहेको बताए।
“हामी यो मञ्चमा सबैले राम्रा कुरा गर्छौं, तर हामी कति व्यवसायिक छौं भन्ने आफ्नै छातीमा हात राखेर सोच्नुपर्छ,” उनले भने।
उनले प्रहरी संगठनभित्र जस्तै पत्रकारितामा पनि राम्रा र कमजोरी दुवै पक्ष रहेको उल्लेख गरे। पत्रकारिता अत्यन्त संवेदनशील पेशा भएकाले गलत वा अपुष्ट सूचनाले सुरक्षामै चुनौती निम्त्याउन सक्ने उनको भनाइ थियो।
“नागरिकसमक्ष पुर्‍याउने सूचना सही हुनुपर्छ। कहिलेकाहीँ गलत सूचनाका कारण सुरक्षामै खतरा आउँछ। त्यसैले कलम चलाउनुभन्दा अगाडि तीनपटक सोचेर संवेदनशील भएर लेख्नुपर्छ,” उनले बताए।
पत्रकारिताबारे सुनेका विभिन्न धारणा र आफ्नो अनुभवबारे बोल्दै एसपी जिसीले “पत्रकार मिलाउनुपर्छ, पत्रकार सेटिङ गर्नुपर्छ” भन्ने कुरा सुने पनि आफ्नो आठ महिनाको कार्यकालमा त्यस्तो अनुभव नभएको बताए।
“मेरो आठ महिनाको कार्यकालमा यहाँ देखिएका धेरै अनुहारलाई म चिन्दिनँ। तर मेरो बारेमा तथ्यहीन समाचार आएको पनि मैले पाएको छैन,” उनले भने।
आफूले गरेको कामकै आधारमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै उनले राम्रो कर्मको फल राम्रो नै आउने बताए।
“आफ्नो ठाउँमा मैले कस्तो कर्म गरिरहेको छु, त्यसको फल त्यस्तै आउने हो,” उनले भने।
एसपी जिसीले न्यायप्रेमी पत्रकारहरूले निष्पक्ष र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। कार्यक्रममा पत्रकार र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने सन्देश दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech