काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आफू मातहत राखेको र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकालमा गृहमन्त्रालयतर्फ फर्काइएको राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ । सरकारले वैशाख ३० गतेको निर्णयमार्फत विभागलाई प्रधानमन्त्री कार्यालयमै राखेपछि भोलिपल्टदेखि सीमाक्षेत्रमा हुने तस्करी तथा राजश्व चुहावट नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएको स्रोतले जनाएको छ ।
राजश्व संकलन अपेक्षाअनुसार नभएको सूचनापछि प्रधानमन्त्री बालेन्द्र साहले गुप्तचर संयन्त्रलाई सीमातर्फ केन्द्रित हुन कडा निर्देशन दिएको बुझिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना संकलन गरी सरकारलाई जानकारी गराउने जिम्मेवारी बोकेको विभागलाई अब आर्थिक तथा राजश्व निगरानीमा समेत परिचालन गरिएको हो ।


गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गते विभागले देशभरका आफ्ना कार्यालयलाई पत्राचार गर्दै राजश्व संकलन तथा आर्थिक गतिविधिमा निगरानी बढाउन निर्देशन दिएको थियो । उक्त निर्देशन जेठ ३ गतेदेखि कार्यान्वयनमा आएको जनाइएको छ ।
स्रोतका अनुसार पत्रमा प्रदेश तथा जिल्ला कार्यालयका प्रमुखबाहेक अन्य कर्मचारीलाई परिचय लुकाएर काम गर्न, फिल्डमा खटिने कर्मचारीले स्मार्टफोनको प्रयोग कम गर्न, सीमावर्ती क्षेत्रमा विशेष परिचालन गर्न तथा राजश्व र आर्थिक सूचनामा पहुँच भएका स्रोतलाई प्राथमिकताका साथ परिचालन गर्न भनिएको छ । साथै सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति नदिन, गोपनीयता कायम राख्न तथा कुनै लोभलालच वा प्रलोभनमा नपर्न पनि निर्देशन दिइएको छ ।
सरकार परिवर्तनसँगै राष्ट्रिय अनुसन्धान विभागलाई कहिले प्रधानमन्त्री कार्यालय त कहिले गृह मन्त्रालय मातहत राख्ने प्रवृत्ति दोहोरिँदै आएको छ । पर्याप्त स्रोत–साधन र तालिमको अभावका कारण विभागले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो रहँदै आएको छ । यस्ता चुनौतीबीच सरकारले विभागमाथि थप जिम्मेवारी थपेको हो ।
दुर्गमका कर्मचारी एउटै ठाउँमा, सुगममा सरुवा चलिरह्यो
बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि पनि राष्ट्रिय अनुसन्धान विभागभित्र सरुवामा विभेद कायम रहेको आरोप उठेको छ । सुगम जिल्लाका अधिकृतहरू पुनः सुगममै सरुवा हुने तर दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी लामो समयदेखि एकै ठाउँमा बस्न बाध्य रहेको स्रोतको दाबी छ ।
सरकारले रूपन्देहीका एसपी प्रकाश आचार्यलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा ल्याएको छ भने त्यहाँ नरेश बमलाई पठाइएको जनाइएको छ ।





