कोहलपुर । बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा एकराज शर्मा निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार कुल ७२६ मतदाता रहेकोमा ४७५ मत खसेको थियो। अध्यक्ष पदका उम्मेदवार एकराज शर्माले ३२५ मत प्राप्त गर्दै विजयी हुँदा उनकी प्रतिस्पर्धी सुष्मा शर्माले १३२ मत प्राप्त गरिन्।
त्यस्तै, कोषाध्यक्ष पदमा राजेन्द्र बिष्ट २७३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी गीतादेवी शर्माले १८० मत प्राप्त गरिन्। सह–सचिव पदमा ईश्वर प्रसाद शर्मा ३०२ मतसहित निर्वाचित हुँदा शर्मिला मल्लले १४१ मत प्राप्त गरिन्।
महिला सदस्यतर्फ दुई पदका लागि भएको निर्वाचनमा लक्ष्मी कुमारी पौडेल ३६३ मत र मिना कुमारी बी.सी. ३१६ मतसहित विजयी भए। अर्की उम्मेदवार हरिकला अधिकारीले १११ मत प्राप्त गरिन्।
खुल्ला सदस्यतर्फ तीन पदका लागि भएको प्रतिस्पर्धामा संगिन शर्मा ३३६ मत, बिरेन्द्र कुमार शाही ३१३ मत तथा जीलेदार थारू २८७ मतसहित विजयी भए। अन्य उम्मेदवारमध्ये हेमराज बरालले १६९ तथा दीपक कुमीर राईले १४७ मत प्राप्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई पुस्तकालयको शैक्षिक, सामाजिक तथा बौद्धिक गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी आएको स्थानीयवासीले बताएका छन्।







