ट्रेण्डिङ

काठमाडौं । धादिङको थाक्रे क्षेत्रमा भएको सडक दुर्घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई लिएर प्रतिनिधि सभा सदस्य आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत धादिङ प्रशासन र प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएकी छन्।
यसअघि अस्थायी प्रहरी बिटका प्रहरी मापासे गरेर ड्युटीमा रहेको आरोप लगाएकी तामाङले यसपटक धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काको भूमिकामाथि आलोचना गरेकी हुन्।
तामाङका अनुसार शनिबार बिहान दुर्घटनापछि पीडित पक्षले सडक अवरुद्ध गरेपछि उनलाई तत्काल घटनास्थल आउन आग्रह गरिएको थियो। उनी धादिङ पुग्दा सडकको बीचमा टिप्पर तेर्स्याएर पूर्ण रूपमा बाटो बन्द गरिएको, मृतककी श्रीमती रोइरहेको अवस्था तथा सयौं यात्रु घण्टौंसम्म अलपत्र परेको दृश्य देखिएको उनले उल्लेख गरेकी छन्।
उनले मृतककी श्रीमतीसँग सडक खुलाउन आग्रह गर्दा “जबसम्म CDO र SP आउँदैनन्, बाटो खुल्दैन” भन्ने जवाफ आएको दाबी गरेकी छन्।
त्यसपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा “खाना खाएर आउँछु” भन्ने जवाफ पाए पनि चार घण्टासम्म घटनास्थलमा नआएको आरोप तामाङले लगाएकी छन्। साथै जिल्ला प्रहरी प्रमुख एसपी खड्का पनि घटनास्थलमा उपस्थित नभएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छन्।
सांसद तामाङले प्रश्न गर्दै लेखेकी छन्, “जिल्लामा यति ठूलो घटना हुँदा, मान्छे मरिसकेको अवस्थामा, सयौं यात्रु जाममा अलपत्र हुँदा समेत CDO र SP घटनास्थल पुग्न सक्दैनन् भने उनीहरूको पद आखिर कसका लागि हो ?”
उनको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धादिङ प्रहरीको कार्यशैलीमाथि व्यापक आलोचना सुरु भएको छ। धेरैले प्रहरी नेतृत्व घटनाको संवेदनशीलताप्रति गम्भीर नभएको तथा जनताको पीडाभन्दा पद र शक्तिमा केन्द्रित भएको टिप्पणी गरेका छन्।
विशेषगरी एसपी सुमित खड्कामाथि पछिल्लो समय लगातार प्रश्न उठ्न थालेको बताइएको छ। मातहतका प्रहरी युनिटमाथि नियन्त्रण कमजोर भएको, जनगुनासो बढ्दै गएको तथा घटना व्यवस्थापनमा नेतृत्व असफल भएको आरोप सार्वजनिक रूपमा आउन थालेको हो।
स्थानीय तहमा समेत धादिङ प्रहरीप्रति असन्तुष्टि बढ्दै गएको चर्चा छ। सेवाग्राहीलाई दबाब दिने, मुद्दा लिएर आउने सर्वसाधारणसँग असंवेदनशील व्यवहार गर्ने तथा जनतासँग समन्वय गर्न नसकेको आरोप प्रहरी संगठनभित्रकै केही अधिकारीमाथि लाग्दै आएको स्थानीयहरूको भनाइ छ।
धादिङजस्तो संवेदनशील जिल्लामा प्रहरी नेतृत्व जनताको सुरक्षा, विश्वास र तत्काल प्रतिक्रिया दिन सक्षम हुनुपर्ने अपेक्षा रहन्छ। तर दुर्घटनाजस्तो गम्भीर घटनामा समेत जिल्लाको सुरक्षा नेतृत्व नै अनुपस्थित देखिनु सामान्य विषय नभएको स्थानीयहरूले बताएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म उठेको आक्रोशले धादिङ प्रहरीको छविमाथि गम्भीर असर पार्न थालेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech