बाँके | जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज बाँकेले लागू औषध (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट लागू औषध र नगद रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, २०८३ जेठ १० गते कोहलपुर नगरपालिका–९ झण्डहवा क्षेत्रबाट अन्दाजी ४२ वर्षीय मोहम्मद असिन लाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र नेपाली रुपैयाँ ४१ हजार १५० बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा सम्मानित जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी, सोही दिन कोहलपुर नगरपालिका–९ पिपरी क्षेत्रबाट समिर थारु र विशाल सुनार लाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट ९२० मिलिग्राम ब्राउन सुगर तथा नेपाली रुपैयाँ ६ हजार ९३५ बरामद भएको बताइएको छ। यस घटनामा पनि अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले लागू औषध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाइने बताएको छ।







