काठमाडौं । नेपाल प्रहरी ले इलाका प्रहरी कार्यालय खुर्कोट को हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विक को हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो।
समितिका अनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनालाई ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ।
छानबिन समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ। साथै ‘हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१’ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न, ड्युटी समयमा अन्य काममा संलग्न नहुन तथा नियमित निगरानी बढाउन सुझाव दिएको छ।
समितिले कुनै पनि असामान्य गतिविधि तुरुन्त रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने उल्लेख गरेको छ। विशेषगरी अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनामा आवश्यक तथ्य संकलन, परिवारजनसँग समन्वय तथा अनुसन्धानसम्बन्धी निर्णयमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण प्रभावकारी बनाउन सुझाव दिइएको छ। साथै मुद्दा चलाउने कार्यालयमा आवश्यक जनशक्ति व्यवस्थापन, सूचना समन्वय तथा प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण र सुधारमुखी कार्ययोजना लागू गर्न पनि समितिले जोड दिएको छ।







