काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ।
काठमाडौं प्रहरी परिसरका अनुसार शनिबार डाँका (लुटपाट) मुद्दामा संलग्न फरार अभियुक्तलाई नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि एक राउन्ड गोली चलाइएको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान गणेश कार्कीका रूपमा गरेको छ। प्रहरीका अनुसार कार्की डाँका मुद्दाका आरोपित हुन् र गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।
प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि जाइलाग्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको जानकारी दिए।
गोली लागेर घाइते भएका कार्कीलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। हाल उनको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







