नेपालगञ्ज । बाँके प्रहरीले अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न तीन सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध उत्खनन तथा ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार तीन सवारी साधन नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमध्ये एक जेसीबी, एक टिप्पर र एक ट्याक्टर रहेका छन्। ती सवारी साधन अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न जिल्लाभर नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिइएको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा सवारी साधनमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।







