काठमाडौं। काठमाडौँ महानगरपालिका–१६ सुकेधारामा एक व्यक्तिमाथि खुर्सानीको धुलो प्रहार गरी सुनको सिक्री र मोबाइल फोन लुटपाट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४० वर्षीय गणेश कार्की रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लुटपाट घटनापछि फरार रहेका कार्कीलाई काठमाडौँको मनोहरा करिडोर क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा कार्कीले प्रहरीमाथि समेत खुर्सानीको धुलो प्रहार गरी खुकुरीले आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्कीमाथि लुटपाट तथा अन्य सम्बन्धित कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले सर्वसाधारणलाई सतर्क रहन तथा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।







