ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । बजारमा व्यापक रूपमा बिक्री हुँदै आएको एक्सट्रिम इनर्जी ड्रिंक्स राजश्व छली तथा स्वास्थ्यसम्बन्धी जोखिमका कारण पुनः विवादमा परेको छ। सार्वजनिक स्थान, किराना पसल, सार्वजनिक सवारीसाधनदेखि स्टार होटलसम्म आक्रामक रूपमा विज्ञापन गर्दै आएको उक्त पेय पदार्थबारे पछिल्लो समय विभिन्न प्रश्न उठ्न थालेका छन्।
आकर्षक प्याकेजिङ, लोभलाग्दा प्रचार सामग्री र विभिन्न उपहार योजनामार्फत विशेषगरी युवा तथा बालबालिकालाई लक्षित गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंक्सले “स्क्यानमा छ सुन” र “वर्ल्ड कप एक्सट्रिम इनर्जी ड्रिंक फ्यान” जस्ता अभियान सञ्चालन गरिरहेको छ। तर उपभोक्तालाई आकर्षित गर्ने यस्ता प्रचार अभियानसँगै कम्पनीमाथि राजश्व छली गरेको आरोप पनि लागेको छ।
यसको पछिल्लो उदाहरण काभ्रेपलाञ्चोकको बनेपामा देखिएको छ। बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रमा रहेको एक गोदाममा प्रहरीले गरेको चेकजाँचका क्रममा बिलबिजक नभएका एक्सट्रिम इनर्जी ड्रिंक्स तथा ‘बाम बाम’ नामक पेय पदार्थ बरामद गरेको हो। प्रहरीले बा.३ ख २२१३ नम्बरको बलेरो गाडीबाट गोदाममा झारिँदै गरिएको करिब ३ हजार ६ सय थान एक्सट्रिम इनर्जी ड्रिंक्स फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको छ। सामानसँगै ढुवानीमा प्रयोग भएको बलेरो गाडी समेत नियन्त्रणमा लिइएको छ। घटनापछि बरामद सामग्री र सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको काभ्रे प्रहरीले जनाएको छ। अवैध कारोबार तथा राजश्व छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ।

यता स्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले पनि इनर्जी ड्रिंक्सको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चेतावनी दिँदै आएका छन्। एक्सट्रिम इनर्जी ड्रिंक्समा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी रेगुलेटर, क्याफिन, टाउरिन तथा विभिन्न कृत्रिम रङ र फ्लेवर प्रयोग गरिएको पाइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउन सक्छ भने कृत्रिम रङ तथा अन्य रासायनिक तत्वहरूले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छन्।
चिकित्सकहरूका अनुसार क्याफिन र टाउरिनजस्ता तत्वले मस्तिष्कलाई उत्तेजित बनाउने काम गर्छन्। विशेषगरी बालबालिका तथा किशोरकिशोरीको विकासशील मस्तिष्कमा यस्ता पदार्थको असर बढी हुन सक्ने बताइन्छ। यस्ता पेय पदार्थको नियमित सेवनले एन्जाइटी, चिडचिडापन, अनिद्रा, ध्यान केन्द्रित गर्न कठिनाइ, टाउको दुख्ने तथा हातखुट्टा काँप्ने जस्ता समस्या निम्त्याउन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ।
स्वास्थ्यसम्बन्धी चेतावनी र राजश्व छलीसम्बन्धी आरोपबीच एक्सट्रिम इनर्जी ड्रिंक्सको बिक्री र वितरण भने निरन्तर भइरहेको देखिन्छ। उपभोक्ता अधिकारकर्मीहरूले यस्ता उत्पादनको गुणस्तर, विज्ञापन तथा कर सम्बन्धी पक्षमा सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस विषयमा कम्पनीको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन। अनुसन्धानको निष्कर्षपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech