कोहलपुर । बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा BBA, BBS तथा MBS तहका विद्यार्थीहरूलाई लक्षित गर्दै “Start-Up Incubation & Mentorship: Entrepreneurs’ Discussion for Sustainable Business Skills and Practices” विषयक तीनदिने कार्यक्रम आजदेखि शुभ होटल, कोहलपुरमा सुरु भएको छ। कार्यक्रम जेठ २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा IME Group का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले वर्तमान समयमा युवाहरूले रोजगारी खोज्ने मानसिकताभन्दा उद्यमशील सोचको विकास गरी रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नेपालमा उद्यम र लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई नवीन सोच, मेहनत र आत्मविश्वासका साथ आफ्ना लक्ष्य हासिल गर्न प्रेरित गर्नुभयो।
क्याम्पस प्रमुख दानबहादुर हमाल ले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले विश्वविद्यालय शिक्षालाई व्यावसायिक सीप र उद्यमशीलतासँग जोड्न क्याम्पस निरन्तर सक्रिय रहेको उल्लेख गर्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रममा बैंकिङ, वित्तीय व्यवस्थापन, लगानी, स्टार्टअप व्यवसाय तथा उद्यम विकास सम्बन्धी विशेष प्रशिक्षण र अन्तरक्रिया सञ्चालन गरिएको थियो। प्रशिक्षक तथा विज्ञहरूले बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्दा व्यवसायिक योजना, बजारको सम्भावना, उद्यमीको क्षमता तथा जोखिम व्यवस्थापन जस्ता पक्षलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने विषयमा जानकारी गराएका थिए। सहभागी विद्यार्थीहरूले बैंकले कुन आधारमा लगानी गर्छ, व्यवसाय सुरु गर्न के–कस्ता प्रक्रिया आवश्यक पर्छन्, स्टार्टअपका लागि पूँजी कसरी जुटाउने तथा व्यवसायलाई दिगो बनाउने उपायहरूबारे प्रश्न राखेका थिए। विज्ञहरूले ती जिज्ञासाको व्यवहारिक र उदाहरणसहित उत्तर दिएका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लक्ष्मणराज पौडेल, निवर्तमान केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, निवर्तमान अध्यक्ष लक्ष्मण पौडेल, Global IME Bank लुम्बिनी प्रदेशका क्लस्टर हेड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
व्यवस्थापन विभाग प्रमुख जीवनसिंह राठौड को समन्वय तथा मानविकी विभाग प्रमुख डा. खोपीराम को सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आगामी दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा उद्यमशीलता, व्यवसाय व्यवस्थापन, वित्तीय योजना, स्टार्टअप सञ्चालन तथा सफल उद्यमीहरूको अनुभव आदान–प्रदानका विभिन्न सत्रहरू सञ्चालन गरिनेछन्। कार्यक्रमले विद्यार्थीहरूलाई व्यवसायिक अवसर पहिचान गर्न, बैंक तथा वित्तीय संस्थासँग प्रभावकारी रूपमा काम गर्न तथा भविष्यमा सफल उद्यमी बन्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।
नवप्रवर्तन, सशक्तीकरण र दिगोपनालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस कार्यक्रमले बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई उद्यमशीलताको व्यावहारिक संसारसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।









