काठमाडौं ।राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङ ले प्रहरी हिरासतभित्र प्रवेश गरी आफ्ना अभियन्तामाथि दुर्व्यवहार तथा मानसिक दबाब सिर्जना गरेको आरोप लगाएको छ। अभियानले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित प्रहरी वृत्त लैनचौर को हिरासतमा राखिएका जेनजी अभियन्तामाथि अमर्यादित व्यवहार भएको बताएका हुन्।
जेनजी अभियानका अगुवाहरूले प्रधानमन्त्री वालेन्द्र शाह ले प्रतिनिधिसभामा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो।
विज्ञप्तिअनुसार पक्राउ परेको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ सुरक्षाकर्मीसहित हिरासत कक्षमा प्रवेश गरी उनीहरूसँग दबाबमूलक व्यवहार गरेका थिए। अभियानका अनुसार गुरुङले “तपाईहरू कोबाट परिचालित हुनुहुन्छ? यो अन्तिम मौका हो, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ। सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्,” भन्दै मानसिक रूपमा त्रसित बनाउने प्रयास गरेका थिए।
अभियानले हिरासतमा रहँदा प्रहरीले समेत आधारभूत मानवअधिकारको सम्मान नगरेको आरोप लगाएको छ। पक्राउ परेकाहरूलाई पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै प्रहरीको व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा हिरासतमा रहेका व्यक्तिको अधिकारमाथि प्रश्न उठेको उल्लेख गर्दै अभियानले सम्पूर्ण घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ।
यस विषयमा पूर्वगृहमन्त्री गुरुङ वा सम्बन्धित सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।







