कोहलपुर । “व्यावहारिक शिक्षा आजको आवश्यकता” भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको तक्षशिला एकेडेमी, कोहलपुरले विद्यार्थीलाई आत्मनिर्भर र जिम्मेवार बनाउन विद्यालय बिदाको समयलाई समेत सिर्जनात्मक रूपमा उपयोग गर्दै आएको छ।
विद्यालयले लामो बिदाका समयमा विद्यार्थी र अभिभावकबीचको समन्वय बढाउने उद्देश्यसहित घरायसी काम सिकाउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले घरका विभिन्न दैनिक कार्यमा सहभागी भई त्यसको भिडियो तयार गरी विद्यालयको समूहमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयका अनुसार आजको व्यस्त जीवनशैलीका कारण कतिपय अभिभावकले आफ्ना बालबालिकालाई दैनिक व्यवहारिक सीप सिकाउन पर्याप्त समय दिन नसकिरहेको अवस्थामा यस कार्यक्रमले अभिभावकलाई पनि आफ्ना सन्तानसँग समय बिताउने अवसर प्रदान गरेको छ। अभिभावकहरूले विद्यालयको यस अभ्यासले आफू र आफ्ना बालबालिकाबीचको दूरी कम गर्न तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताएका छन्।




विद्यालयका शिक्षकहरूका अनुसार बिदाको समयमा बालबालिकाले अत्यधिक समय मोबाइल, ट्याबलेट तथा अन्य ग्याजेटमा बिताउँदा स्वास्थ्य तथा व्यवहारमा नकारात्मक असर पर्ने भएकाले उनीहरूलाई रचनात्मक तथा व्यवहारिक गतिविधिमा संलग्न गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यार्थीहरूले घरमा गरेका कामका भिडियोहरू विद्यालय समूहमा साझा गर्नुका साथै विद्यालयमा स्मार्ट बोर्डमार्फत कक्षाकोठामा समेत प्रदर्शन गर्ने व्यवस्था मिलाइएको छ। यसले विद्यार्थीहरूलाई नयाँ काम सिक्न, आफ्नो सीप प्रस्तुत गर्न तथा अन्य साथीहरूबाट प्रेरणा लिन थप उत्साह मिलेको शिक्षकहरूको भनाइ छ।
तक्षशिला एकेडेमीले शैक्षिक ज्ञानसँगै जीवन उपयोगी सीप र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र सक्षम नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।





