काठमाडौं । प्रहरी वृत लैनचौरमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) गणेश भट्ट घुस लिएको आरोप पुष्टि भएपछि निलम्बनमा परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सई भट्टलाई विभागीय छानबिनका लागि निलम्बन गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले एक क्लब सञ्चालकबाट नगद रकम लिएको देखिएको थियो। प्रारम्भिक छानबिनका क्रममा उक्त आरोप पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार नर्सिङचोक क्षेत्र नजिक सञ्चालनमा रहेको एक क्लबमाथि भारतीय पर्यटकलाई ठगी गरेको आरोपमा उजुरी परेको थियो। उजुरीपछि सई भट्ट नेतृत्वको टोली क्लबमा पुगेको थियो। त्यसक्रममा क्लब सञ्चालकसँगको भेटघाटमा उनले पाँच हजार रुपैयाँ घुस लिएको आरोप छ।
क्लब सञ्चालकले नै गोप्य रूपमा उक्त घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएसँगै प्रहरी संगठनभित्र हलचल मच्चिएको थियो र तत्काल छानबिन सुरु गरिएको थियो।
सई भट्ट हाल क्युआरटी (क्विक रेस्पोन्स टिम) मा कार्यरत थिए। घटनाले प्रहरी वृत्त लैनचौरको नेतृत्वमाथि समेत प्रश्न उठाएको छ।
यसैबीच, वृत्तका प्रमुख डीएसपी चक्रबहादुर शाहलाई समेत घटनाले दबाबमा पारेको बताइएको छ। ठमेल क्षेत्रमा परिचालित घुमुवा प्रहरीमाथि गलत गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने तथा वैध व्यवसाय सञ्चालन गर्नेहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढ्दै गएको स्रोतको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। दोषी ठहर भएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुन तथा विभागीय नियमअनुसार थप कारबाही हुने बताइएको छ।







