नेपालगञ्ज, बाँके । जिल्ला बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैला गाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शनिबार विशेष निगरानीका क्रममा थुकैला गाउँबाट गडियनपुरवा तर्फ आउँदै गरेको यूपी ४० क्यू ८९२१ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बहराइच जिल्ला रुपैडिहा नईबस्ती निवासी ४० वर्षीय मोहम्मद रिजवानको अण्डरवेयरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध, प्रयोग गरिएको मोटरसाइकल तथा पक्राउ परेका रिजवानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







