नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले बुधबारदेखि लागू हुने गरी तीन दिनका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर खत्रीका अनुसार विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै असार १०, ११ र १२ गते विद्यालय तहका सम्पूर्ण पठनपाठन स्थगित गरिएको हो।
उनले जल तथा मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायको सुझावका आधारमा निर्णय गरिएको जानकारी दिँदै अत्यधिक गर्मीका कारण धेरै विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने तथा अन्य स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गर्न बाध्य भएको बताए।
नेपालगन्ज उपमहानगरपालिकाभित्र हाल संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक ३९ गरी कुल १६३ विद्यालय सञ्चालनमा रहेका छन्। निर्णयअनुसार यी सबै विद्यालयमा तीन दिनसम्म पठनपाठन बन्द रहनेछ।
यसअघि पनि बढ्दो गर्मीका कारण उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने सूचना जारी गरेको थियो।
उता, जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ भने खजुरामा ३९.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामप्रसाद अवस्थीले अत्यधिक गर्मी अझ केही दिन कायम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
स्थानीय प्रशासनले अत्यधिक गर्मीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।







