Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौँ । नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा सहकार्यमा सामुदायिक विद्यालयमा कार्यरत ५३ जना शिक्षक–शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान गरेको छ। शिक्षकहरूको नेतृत्व क्षमता, अनुशासन, सेवाभाव तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको हो।

असार २ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको ६३१औँ बीटीसी (बेसिक ट्रेनिङ कोर्स) तथा ४६७औँ पीटीसी (प्राइमरी ट्रेनिङ कोर्स) नेपाल स्काउट अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा सम्पन्न भएको नेपाल स्काउटले जनाएको छ। छ दिनसम्म सञ्चालन भएको तालिममा सहभागी शिक्षकहरूले स्काउटिङका आधारभूत सिद्धान्त, नेतृत्व विकास, टोली व्यवस्थापन, अनुशासन, सेवा तथा सामाजिक उत्तरदायित्वका विविध विषयमा प्रशिक्षण प्राप्त गरेका थिए।

तालिम नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रबिन दाहाल र राष्ट्रिय प्रशिक्षक अनिता मानन्धरको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपाल स्काउटका पूर्व पदाधिकारी तथा राष्ट्रियस्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूहगत क्रियाकलाप, नेतृत्व विकासका अभ्यास तथा स्काउटिङका मूल्य–मान्यतासम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

काठमाडौं महानगर स्काउटका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठको सक्रियता तथा शैक्षिक पद्धति आयुक्त मुना लामाको संयोजकत्वमा सम्पन्न भएको यस तालिमले विद्यालयस्तरमा स्काउट गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार तालिमबाट शिक्षकहरूमा नेतृत्व विकास हुनुका साथै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिकका रूपमा तयार गर्न सहयोग पुग्नेछ।

समापन कार्यक्रममा कोर्स लिडर रबिन दाहालले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जिम्मेवार, अनुशासित र चरित्रवान नागरिकका रूपमा विकास गर्न स्काउटिङको महत्वपूर्ण भूमिका रहने बताए। उनले स्काउटिङ केवल अतिरिक्त क्रियाकलाप मात्र नभई व्यक्तित्व विकास, सामाजिक चेतना र सेवाभाव अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे।

दाहालले यस्ता तालिमले शिक्षकहरूलाई विद्यार्थीसँग अझ प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउने तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार विद्यालयमा स्काउट गतिविधि सुदृढ भएमा विद्यार्थीमा नेतृत्व, सहकार्य, आत्मअनुशासन तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्न सहज हुन्छ।

कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले स्काउटिङमार्फत विद्यार्थीमा सकारात्मक सोच, सामाजिक सेवाको भावना तथा सामूहिक कार्यसंस्कृति विकास गर्न सकिने बताएका छन्।

समापनका क्रममा दाहालले तालिम सफल बनाउन सहयोग पुर्‍याउने काठमाडौं महानगरपालिका, नेपाल स्काउट, प्रशिक्षकहरू तथा सहभागी शिक्षक–शिक्षिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालयस्तरमा स्काउट आन्दोलनलाई थप सशक्त बनाइने बताए।

नेपाल स्काउटले देशभरका विद्यालयमा स्काउटिङ गतिविधि विस्तार गर्दै बालबालिका तथा युवामा नेतृत्व, अनुशासन, सेवाभाव र राष्ट्रप्रेमको भावना विकास गर्ने लक्ष्यका साथ विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। काठमाडौंमा सम्पन्न यो तालिम पनि सोही अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech