धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ४० ग्राम ५१० मिलिग्राम लागूऔषध ब्राउन हेरोइनसहित १० जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मिति २०८२ असार १० गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरू र लागूऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा उक्त परिमाणको ब्राउन हेरोइन बरामद गरेको हो।
प्रहरीले लागूऔषधसहित १० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। पक्राउ परेकाहरूको परिचय तथा घटनाबारे विस्तृत विवरण अनुसन्धानको क्रममा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले लागूऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताएका छन्।







