काठमाडौं ।चिकित्सकको मान्यता प्राप्त उपाधि तथा नेपाल मेडिकल काउन्सिल (एनएमसी) को दर्ता प्रमाणपत्रबिना बिरामीको उपचारमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको साविक मातातीर्थ गाविस–७ बसोबास गर्ने ४७ वर्षीया चेतन ए.एम. (पौडेल) लाई पक्राउ गरेको जनाएको छ।
सीआईबीका अनुसार चन्द्रागिरी–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत पौडेलले आफू चिकित्सक भएको देखाउँदै बिरामीको आधुनिक चिकित्सा विधिबाट परीक्षण, उपचार तथा औषधि सिफारिस गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा उनी बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसहित फेला परेकी थिइन्। अनुसन्धानका क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट आवश्यक दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) समेत नलिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा आवश्यक योग्यता र कानुनी अनुमति बिना उपचार कार्यमा संलग्न हुने व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।







