काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनाभर देशभर सञ्चालन गरेको अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेश प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६, लुम्बिनी प्रदेशबाट १८२, कर्णाली प्रदेशबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट थप ५० जना रहेका छन्।
यस अवधिमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषधसमेत बरामद गरेको जनाएको छ। लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रभावकारी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, गत जेठमै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २ हजार १८२ प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट १७, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३२६, कोशी प्रदेशबाट ३०५, मधेश प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ तथा सुदूरपश्चिम प्रदेशबाट १२० जना रहेका छन्।
कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। साथै, अपराध नियन्त्रण र फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले उल्लेख गरेको छ।







